७ लाखको ढाका बुनाई मेसिन नचलेरै खिया लाग्यो

  • - ३ लाखको उन कुहिने अवस्थामा

  • दैलेख : दुई वर्ष अघिको अन्तिम समिक्षामा घरेलु तथा उद्योग उपभोक्ता हित संरक्षण कार्यालय, नारायण नगरपालिका दैलेखले महिलाहरूलाई उद्यमसँग जोड्ने अभियान अन्तर्गत कर्णाली प्रदेशमै पहिलो पटक सबैभन्दा ठुलो मेसिन दैलेखमा ल्याएको भनेर प्रगती प्रतिवेदन सार्वजनिक गरे । मेसिन ल्याउनकै लागि लाखौँ रकम खर्च देखाएको घरेलु कार्यालयले त्यसपछि मेसिन चलाउने बारेमा चासो दिएन । तीन वर्ष अघि ७ लाख रकम मेसिन खरिदका लागि खर्च भयो । केही दिनमा मेसिन चल्छ भन्ने हल्ला गरियो, आजभोलि भन्दा भन्दै तीन वर्ष पूरा भयो मेसिनमा खिया लाग्यो, धागो कुहिने अवस्थामा पुग्यो तर मेसिन चलेन ।
    महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले तीन वर्ष अघि ल्याएको अत्याधुनिक कपडा बुन्ने मेसिन नचलेरै खिया लाग्ने अवस्थामा पुगेपछि उद्यमीका नाममा खर्च भएको रकमको बारेमा अहिले चर्चा सुरु भएको छ । सदरमुकाम भित्रै गरिएको लगानी यसरी खेर गएपछि गाउँमा गरिएका लगानी के भए होलान् स्थानीय महिला उद्यमी खगिसराले गुनासो गरिन् ।
    प्रति घण्टा ८ मिटर कपडा बुन्न सक्ने मेसिन विद्युतबाट सञ्चालन हुन्छ । सामूहिक रूपमा यो मेसिनको सुरुवात गर्ने, सबैलाई तालिम दिने र तालिम लिएका महिलाहरूलाई कपडा बुन्न सिकाउने र आम्दानीको बाटो खोल्ने उद्देश्य राखिएको भए पनि मेसिन नचलेरै कवाडीमा बेच्नुपर्ने अवस्थामा पुगेको छ ।
    संविधान सभा सभासद् भरत कुमारी रेग्मीको पहलमा स्थानीय गणेश चौकका महिलाहरूलाई खाली समयमा उद्यममा आकर्षित गराउने र आम्दानी गर्ने सजिलो बाटो पहिल्याउने उद्देश्यले विभिन्न निकायहरूसँग पहल गरेर उक्त मेसिन ल्याइएको थियो । मेसिन आए पनि धागो बिस्तार गर्ने ड्रमको व्यवस्थापन नभएपछि मेसिन थन्किएको छ । तीन लाख मात्र पर्ने उत्त ड्रमको व्यवस्थापन नत घरेलु तथा साना उद्योग कार्यालयले गरिदियो, न त नारायण नगरपालिका न त वडाले नै ।
    गणेशचौकमा बस्ने वडा नं. ६ र ७ का महिलाहरुलाई उद्यमी बनाउने भनेर मेसिन ल्याइएको थियो । दुईवटा वडाको साँध भएकोले दुईवटा वडाले चाहेको भएपनि मेसिन सञ्चालन हुने थियो तर वडाहरु समेत उद्यमीहरुलाई सहयोग भन्दा डोजरतिरै बढी ध्यान दिएको स्थानीय महिलाहरुको गुनासो छ ।
    अलिकति कमिशन आउने जस्तो अवस्था भएको भए काम हुन्थ्यो होला मैले त गणेश चौकमा रहेका बेरोजगार महिलाहरूका लागि रोजगारी सृजना गर्ने र गणेश चौकलाई उद्यमी महिलाहरूको हब बनाउने उद्देश्य राखेर अभियान थालेको थिएँ, सामान्य सहयोग नपाएपछि मेसिन थन्किएको छ । पूर्व संविधान सभा सदस्य भरत रेग्मीले गुनासो गरिन् । राम्रो मनसाय राखेर काम गर्ने अवस्था नै छैन् ।
    मेसिन सञ्चालन गर्ने वा कबाडीमा बेच्ने नारायण नगरपालिका, वडा नं. ६ र ७ र घरेलु तथा उद्योग उपभोक्ता कार्यालय दैलेखलाई यतीवेला चुनौती थपिएको छ ।

     

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार